विदेशमा २१ लाख ९० हजार ५९२ नेपाली
वैदेशिक रोजगारीमा रहेका नेपालीको संख्या २१ लाख ९० हजार ५९२ रहेको छ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार, देशभरका १५ लाख ५५ हजार ९६१ परिवारका सदस्य विदेशमा छन्। कुनै परिवारबाट तीन जनासम्म विदेश गएको पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।
तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतीजा अनुसार, विदेश जानेमा पुरुष धेरै छन्। झन्डै ८२.२ प्रतिशत अर्थात् १७ लाख ९९ हजार ६७५ जना पुरुष विदेशमा छन्।
त्यस्तै, तीन लाख ९० हजार ९१७ जना महिला पनि विदेशमा छन्। यो १७.८ प्रतिशत हो। २०६८ सालको जनगणना अनुसार, १९ लाख २१ हजार ४९४ जना विदेशमा थिए।
१२औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा सार्वजनिक गरेको छ। तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको हो।
जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ। त्यस्तै, पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत छ।
यसैगरी, अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। यो देशको जनसंख्याको ०.००१ प्रतिशत हो।
यसअघि २०६८ सालमा भएको जनगणना अनुसार, देशको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।
तथ्याङ्क कार्यालयले गत कात्तिक २५ देखि मंसीर ९ गतेसम्म जनगणना गरेको थियो। यसको प्रारम्भिक नतीजा गत माघमा सार्वजनिक गरिएको थियो।