नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८
नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ।
शुक्रबार राष्ट्रिय तथ्याङ्क कार्यालयले १२औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा सार्वजनिक गरेको छ। तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको हो।
जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ। त्यस्तै, पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत छ।
यसैगरी, अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। यो देशको जनसंख्याको ०.००१ प्रतिशत हो।

उमेर समूह अनुसार जनसंख्या प्रतिशतमा।
यसअघि २०६८ सालमा भएको जनगणना अनुसार, देशको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।
तथ्याङ्क कार्यालयले गत कात्तिक २५ देखि मंसीर ९ गतेसम्म जनगणना गरेको थियो। यसको प्रारम्भिक नतीजा गत माघमा सार्वजनिक गरिएको थियो।
तथ्याङ्क कार्यालयले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ। राष्ट्रिय जनगणना २०७८ का लागि सन्दर्भ दिन २०७८ मंसीर ९ गतेलाई राखिएको छ।
जनगणना २०७८ अनुसार, वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत छ। २०६८ सालको जनगणना अनुसार वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो।
जनगणना प्रतिवेदन अनुसार, देशभर ६६ लाख ६६ हजार ९३७ परिवार छन्। जसमा आफ्नै घर भएका ८६ प्रतिशत अर्थात् ५६ लाख २८ हजार ५८६ परिवार छन्।
त्यस्तै, १२.८ प्रतिशत परिवार भाडामा बस्दै आएका छन्। भाडा बस्ने परिवारको संख्या आठ लाख ५० हजार ५६२ छ।