रास्वपा र लोसपाले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेका छन्।
रास्वपाको चैत ५ मा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको सचेतक सन्तोष परियारले बताए। प्रधानमन्त्री दाहालले चैत ६ गते प्रतिनिधि सभामा विश्वासको मत लिंदै छन्। प्रतिनिधि सभामा रास्वपाका १९ सांसद छन्।
त्यस्तै, लोसपाले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ। संसदीय दलको बैठकले विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए।
बैठकपछि महतोले भने, “पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ। विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ।”
लोसपा बैठकले संसद्मा सत्तापक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ। यसअघि लोसपा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए पनि प्रतिपक्षी बेन्चमा बसेको थियो। प्रतिनिधि सभामा लोसपाका चार सांसद छन्।
आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। त्यस्तै, नेकपा (एकीकृत समाजवादी)को सचिवालयले बैठकले पनि विश्वासको मत दिने निर्णय गरेको थियो।