जसपाले समानुपातिक सांसदमा मञ्जु अन्सारीलाई पठाउँदै
जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्यको रिक्त पदमा मञ्जु अन्सारीलाई पठाउन लागेको छ।
जसपाबाट समानुपातिक सांसद शहनाज रहमानको गत फागुन १३ गते निधन भएको थियो। भक्तपुरको घ्याम्पेडाँडामा वनभोज गएकी सांसद रहमानलाई हृदयाघात भएको थियो।
उनी मुस्लिम क्लस्टरबाट समानुपातिक सांसद बनेकी थिइन्। रिक्त पदमा मुस्लिम क्लस्टरको बन्दसूचीबाट दोस्रो नम्बरमा रहेको नाम पठाउनुपर्ने व्यवस्था छ।
यही विषयमा निर्णय गर्न बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपा प्रवक्ता पूर्ण बस्नेतले बताए। “मुस्लिम क्लस्टरको दोस्रो नम्बरमा मञ्जु अन्सारीको नाम छ। त्यही विषयमा निर्णय गर्न कार्यकारिणी समितिको बैठक बोलाइएको हो,” प्रवक्ता बस्नेतले भने।
जसपाले नाम पठाएपछि निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको घोषणा गर्नेछ।
अध्यक्ष उपेन्द्र यादवले ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा चैत २ गते बिहान ११ बजे जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्।