वाम एकताका लागि फेरि बहस गर्ने वेला आयो: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले) भित्र पनि ठूलो पंक्ति वाम एकताको पक्षमा रहेकाले फेरि एकताका लागि बहस गर्ने वेला आएको बताएका छन्।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वाम एकताअघि समाजवादी मोर्चा बनाउनुपर्ने जिकिर गरे। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिन समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी रहेको औल्याए।
“माओवादी धाराका कम्युनिस्ट घटकबीच छलफल भइरहेको छ। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ”, दाहालले भने, “केही दिनमा समाजवादी मोर्चा बन्छ।”
त्यसपछि वाम एकताका लागि पहल थालिने उनको भनाइ थियो। “समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्नेछ, त्यसको पहल पनि हामी माओवादीहरूले नै लिनुपर्छ”, दाहालले भने, “एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ। हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ।”
वाम एकताका लागि माओवादीले पहल गर्नुपर्ने उनको भनाइ थियो। “एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता-कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्”, उनले भने, “तसर्थ, त्यो प्रवृत्तिलाई पराजित गर्दै फेरि एकताका निम्ति बहस गर्ने वेला आयो।”