सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’ मा
![सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’ मा](https://www.himalkhabar.com/uploads/posts/800X600/sandeep_1662645583.jpg)
क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा राखेको छ।
आइतबार बहस नसकिएपछि लामिछानेको मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको हो। यस मुद्दामाथि सोमबार बहस हुने भएको छ।
बालिका बलात्कारको अभियोगमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यस विरुद्ध उनी उच्च अदालत, पाटन पुगेका थिए।
उच्च अदालतले विदेश जान नपाउने गरी २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यस विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो।
त्यस्तै, लामिछानेले पनि उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए। उनले विदेश जान पाउनुपर्ने माग गरेका थिए।
सर्वोच्चले दुवै निवेदनलाई एउटै ठाउँमा राखेर सुनुवाइ तोकेको थियो। आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको हो। बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
अब सोमबार पनि न्यायाधीशद्वय मल्ल र चुडालकै इजलासमा सुनुवाइ हुनेछ।