सीआईएद्वारा सञ्चालित व्यक्तिलाई पुनः नेपालको गृहमन्त्री बनाउन दबाब आइरहेको छ: जनमोर्चा
राष्ट्रिय जनमोर्चाले अमेरिकी गुप्तचर संस्था सीआईए (सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी)द्वारा सञ्चालित व्यक्तिलाई पुनः नेपालको गृहमन्त्री बनाउन दबाब आइरहेको जनाएको छ।
जनमोर्चाले फागुन ५ मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै अमेरिका र यसको गुप्तचर संस्था सीआईएले सञ्चालन गरेको व्यक्तिलाई फेरि गृहमन्त्री बनाउन दबाब आएको दाबी गरेको हो। ‘अमेरिकी साम्राज्यवाद तथा सीआईएद्वारा सञ्चालित व्यक्तिलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन तपाईंको सरकारमाथि दबाब परिरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ।
सीआईएद्वारा सञ्चालित व्यक्ति को हो भन्ने ज्ञापनपत्रमा खुलाइएको छैन। तर, नाम उल्लेख नभए पनि आफ्नो पार्टीले रवि लामिछानेलाई पुनः गृहमन्त्री नबनाउन लबिइङ गर्दै आएको ज्ञापनपत्र बुझाउन गएका जनमोर्चाका एक पदाधिकारीले हिमालखबरलाई जानकारी दिए।
ज्ञापनपत्र बुझाउन जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री र केन्द्रीय सदस्य घनश्याम न्यौपाने बालुवाटार पुगेका थिए।