सरकार गठन प्रकरण आयो, सकियो: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी सरकार गठन प्रकरणमा अल्झिएर बस्न नहुने बताएका छन्।
प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल सरकारबाट बाहिरिएको प्रसङ्गमा उनले भने, “सरकार गठन प्रकरण अब सकियो। नेपाली कांग्रेस पार्टी फेरि उठ्छ, उठाइन्छ। हारजितको कुरा एकछिन आयो, सकियो।”
थापाले सरकार गठनका विषयमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाएका छन्। सरकार गठनका विषयमा निर्णय गर्दा देउवाले कसैसँग परामर्श नगरेको थापाको भनाइ छ।
पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमा बोल्दै थापाले भने, “हिजो बिहान ६ बजेबाट फोन खोलेर मेरो पार्टी सभापतिको कल कति खेर आउँछ भनेर बसें, तर फोन आएन।”
कांग्रेसको विधानमा एउटा महामन्त्री संसदीय दलको पदेन सदस्य रहने व्यवस्था छ। थापाले भने, “साँच्चै भन्ने हो भने म अपमानित भएर पोखरा आएको हुँ।”
कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले धेरै सीट जित्दाजित्दै माओवादी अध्यक्ष प्रधानमन्त्री बन्नु भनेको एम्बाप्पेले धेरै गोल गरे पनि विश्वकप जित्न नसकेको कुरासँग तुलना गरे।