सात दल मिलेर दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय
नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाहेकका सात दल मिलेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सात दलको बैठकले दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले बताए। “कांग्रेसले नसकेपछि स्वाभाविक रूपमा एमालेले सात दल मिलाएर सरकार गठनका लागि पहल गरेको हो,” बैठकपछि पोखरेलले भने।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेका हुन्।
प्रतिनिधि सभामा एमालेका ७८, माओवादीका ३२, स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्।
सातै दल मिलाएर १६६ सांसद पुगेका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्छ।
एमाले नेतृत्वको गठबन्धनबाहिर पाँच पार्टी देखिएका छन्। जसमा कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी छन्।
प्रतिनिधि सभामा कांग्रेसका ७९, एकीकृत समाजवादीका १०, लोसपाका चार तथा जनमोर्चा र मजदूर किसान पार्टीका एक-एक सांसद छन्।