सरकार गठनबारे ओली र दाहालबीच बालकोटमा छलफल
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सरकार गठनका लागि छलफलमा जुटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटरमा भएको सत्तारुढ पाँच दलको बैठक निष्कर्षविहीन भएपछि माओवादी अध्यक्ष दाहाल एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका हुन्। ओली र दाहालबीच सरकार गठनका विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन्।
छलफलमा एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल तथा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी छन्।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्षनेताबीच भएको छलफल निष्कर्षविहीन भएको थियो।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालले पहिलो चरणमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेका थिए। जसले गर्दा सरकार गठनका विषयमा सहमति जुट्न सकेको थिएन।
मंसीर ४ मा भएको प्रतिनिधि सभामा कुनै पनि पार्टीको बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दल मिलेर प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दिएको समय आज साँझ ५ बजे सकिंदै छ। त्यसअघि प्रधानमन्त्रीका लागि दाबी पेश गर्न एमाले र माओवादी नेताहरू छलफलमा जुटेका हुन्।
साँझ ५ बजेसम्म कुनै पनि दलले प्रधानमन्त्रीका लागि दाबी पेश नगरेमा वा राष्ट्रपतिले समय थप नगरेमा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुनेछ। त्यस अनुसार प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता देउवा पुनः प्रधानमन्त्री नियुक्त हुन सक्नेछन्।