बुद्ध एअरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन
बुद्ध एअरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आइतबार निधन भएको छ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।
भोजपुरको दिङ्लास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबी गरेका थिए। उनले सरकारका विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, २०२४ सालमा कानून, न्याय तथा शिक्षामन्त्री, २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए।
उनी नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष समेत रहेका थिए। उनले ७० वर्षको उमेरमा बुद्ध एअर स्थापना गरेका थिए।
बस्नेतका दुई छोरा र एक छोरी छन्। जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत बुद्ध एअरको प्रबन्ध निर्देशक छन्।