फेरि बस्ने गरी सकियो सत्तारूढ दलको बैठक
सरकार गठनबारे छलफल गर्न बसेको सत्तारूढ दलका नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल दुवैले प्रधानमन्त्रीमा दाबी नछाडेपछि बैठक विना निष्कर्ष सकिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बिहान पुनः बैठक बस्ने बताए। वर्तमान गठबन्धनकै नेतृत्वमा सरकार बन्ने ज्ञार्कीको दाबी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार गठनका लागि दिएको समय अवधि आइतबार साँझ ५ बजे सकिंदै छ। त्यसअघि नै सहमति गर्ने प्रयासमा आफूहरू लागेको बैठकमा सहभागी एक नेताले बताए।
बैठकअघि कांग्रेस नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए।