‘नेपाल अथाह सम्भावना भएको देश होइन’
पूर्व अर्थमन्त्री युवराज खतिवडाले चार वटा कारण दिंदै नेपाललाई आर्थिक रूपमा अथाह सम्भावना भएको देश भन्न नमिल्ने तर्क गरेका छन्।
पोखरामा जारी नेपाल साहित्य महोत्सवमा बोल्दै खतिवडाले भने, “अर्थशास्त्रको विद्यार्थीको हिसाबले नेपाललाई अथाह सम्भावना भएको देश हो भन्ने शब्द प्रयोग गर्दिनँ।”
स्रोत सीमित भएको हुनाले सम्भावना पनि सीमित हुने र नेपालले सीमित स्रोतको अधिकतम उपयोग गरेर सबैभन्दा बढी लाभ लिन नसकेको उनको विश्लेषण छ।पुस ९ मा आयोजित ‘भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र’ शीर्षकको कार्यक्रममा बोल्दै उनले नेपाललाई जलस्रोत, छिमेकसँगको व्यापारिक सम्बन्ध, जनसंख्याको लाभ र भूपरिवेष्टित देश भएकाले अथाह सम्भावना भएको देश भन्न नमिल्ने जिकिर गरेका हुन्।
जलस्रोतमा धनी देश भनिए पनि नेपालमा पानीको अभाव रहेको खतिवडाको भनाइ छ। उनले भने, “जलस्रोतकै कुरा गर्दा सिजनल र भौगोलिक दुवै हिसाबले हामीलाई पानीको अभाव भइरहन्छ।”
नेपाल दुई ठूला छिमेकीको बीचमा भए पनि व्यापारिक लाभ लिन नसकेको उनले बताए। “एकातिर सानो व्यापारिक बाहेक कुनै कनेक्शन छैन,” खतिवडाले भने, “व्यापार, पर्यटन, लगानी, सहायता जस्ता कुराले छिमेकी देशका बजारलाई हेर्छौं, तर त्यहाँ हाम्रा सीमाहरू छन्।”
जनसंख्याको ठूलो हिस्सा युवा भए पनि त्यसबाट नेपालले लाभ लिन नसकेको नेपाल राष्ट्र ब्यांक र राष्ट्रिय योजना आयोगको समेत नेतृत्व गरिसकेका खतिवडाको विश्लेषण छ। उनले भने, “जनसांख्यिक लाभ लिने अवस्थामा छौं भन्छौं, तर २५ वर्ष पुगेको ठूलो संख्या निरक्षर र सीपविहीन छ।”
नेपाल भूपरिवेष्टित देश भएको हुनाले यातायात र लजिस्टिक लागत बढी हुने उनले बताए। “यी चार कारणका बावजूद नेपाल धेरै सम्भावना भएको देश चाहिं हो,” कार्यक्रममा खतिवडाले भने।
राष्ट्रिय सभाकी पूर्व सांसद विमला राई पौडेलले सरकारले सदनमा प्रस्तुत गरेको विधेयकमा सांसदहरूले सानोभन्दा सानो कुरा पनि परिवर्तन गर्न नसक्ने अनुभव सुनाइन्। “विधेयकमा च्याउ हुनुपर्नेमा स्याउ टाइप भएर आएको छ भने सच्याएर च्याउ बनाऊ भन्न पनि पाइँदैन, त्यसो गर्यो भने सरकार ढलिहाल्छ,” पौडेलले भनिन्, “सांसदलाई गाली गर्नुहुन्छ, सांसदले कसरी गर्ने? कानून, नीति बनाउने कुरामा हाम्रा सांसद शक्तिहीन भएका छन्।”
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले कुनियत सहितको कुशासन देश विकासमा बाधक रहेको दाबी गरे। उनले भने, “हामी जस्ताजस्तै भएको देशको तुलनामा धेरै पछाडि परेका छौं, त्यसको एउटै कारण कुशासन हो। अहिले थपिएको कुनियत सहितको कुशासन हो।”