चितवनमा पनि चल्यो डोजर, नारायणगढ बजारका संरचना भत्काइँदै
सडक विस्तारका लागि चितवनको नारायणगढ बजारमा सडक किनारका संरचना भत्काउन थालिएको छ।
सडक डिभिजन कार्यालय, भरतपुरले चितवनको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारका लागि छेउछाउका संरचना भत्काउन थालेको हो। पुल्चोक–गोन्द्राङ सडक विस्तार अन्तर्गत पुल्चोकदेखि केन्द्रीय बसपार्कसम्मका ५८ वटा घरको पिल्लर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए।
एक साताभित्र सडकमा परेका अवैध संरचना भत्काएर विस्तारको काम अघि बढाउने योजना रहेको उनको भनाइ छ। यसअघि सडक अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन दुई पटक सूचना जारी गरिएको थियो।
सडक डिभिजन कार्यालयले ६ लेन सडक विस्तारको काम शुरू हुँदा ३५ दिने सूचना सार्वजनिक गरेर घर भत्काउन आग्रह गरेको थियो। त्यसपछि गत कात्तिक २४ मा १५ दिने सूचना जारी गरिएको थियो।
“कात्तिक २४ गते १५ दिने सूचना दिएका थियौं, त्यसपछि पनि समय दियौं। सबै घरमा गएर सूचना टाँसेको पनि हो,” पौडेलले भने, “उहाँहरूले के भत्केला र जस्तो गर्नुभयो। बाध्य भएर भत्काउन पर्ने अवस्था आयो।”
सडक डिभिजन कार्यालयले शुक्रबारदेखि संरचना भत्काउन शुरू गरेको हो। शनिबार पनि संरचना भत्काइँदै छ।