नेकपा सर्वोच्च अदालतले फुटाएको होइन: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतले विभाजन नगरेको बताएका छन्।
तत्कालीन नेकपाको एक अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री ओलीले योजनाबद्ध रूपमा पार्टी विभाजन गरिएको दाबी गरे। सर्वोच्च अदालतले केवल नाम परिवर्तन गर्न भनेको उनको भनाइ छ।
एमालेको प्यूठान-काठमाडौं सम्पर्क मञ्चले पुस ९ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने, “नेकपा नामको पार्टी पहिला नै निर्वाचन आयोगमा दर्ता भएकाले अदालतले नयाँ नाम लिएर आउन भनेको थियो।”
अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालहरूले नेकपा विभाजन गरेको ओलीको आरोप छ। उनले कार्यक्रममा भने, “पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालहरूले फुटाएको हो, सर्वोच्च अदालतले फुटाएको होइन।”
२०७४ सालको आम निर्वाचनमा गठबन्धन गरेको एमाले र माओवादीबीच एकीकरण भएर २०७५ मा नेकपा बनेको थियो। २०७७ फागुनमा सर्वोच्चको फैसलापछि साविक एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए।