कांग्रेस-एमालेकै सरकार बनोस्: राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार बन्नुपर्नेमा जोड दिएका छन्।
पद तथा गोपनीयताको शपथ ग्रहणका लागि पुस ७ गते संसद् भवन पुगेका लिङ्देनले भने, “स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाऊन् भन्ने हाम्रो चाहना छ।”
झापा-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लिङ्देनले आफ्नो पार्टी सरकार गठनको दौडमा नभएको दाबी गरे। यद्यपि, सरकार नबनी नहुने अवस्थामा भने आफ्नो पार्टी सरकारमा जान तयार रहेको उनको भनाइ थियो।
प्रत्यक्ष तथा समानुपातिक प्रणालीतर्फबाट निर्वाचित २७० सांसदहरूलाई ज्येष्ठ सदस्यका रूपमा राप्रपाका सांसद पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ गराएका थिए। कांग्रेसकी माया राई, नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले, नेकपा (माओवादी केन्द्र)का महिन्द्रराय यादव र रामकुमार राई भने शपथ कार्यक्रममा अनुपस्थित रहे।