कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता‚ भोलि निर्वाचन
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।
दर्ताका लागि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। समितिले मनोमयन दर्ताका लागि रु.५१ हजार शुल्क तोकिएको कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जनाएको छ।
निर्वाचनका लागि सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ। पार्टीका प्रतिनिधि सभाका सदस्य मतदाता हुन्। मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ। मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ।
कांग्रेस उपमहासचिव भीष्मराज आङ्देम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन्। गत मंसीर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सीटमा विजय हासिल गरेको छ।
संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठनका लागि पहल शुरू गरिसकेको छ। कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्त्वपूर्ण मानिन्छ। कांग्रेसको विधानको दफा ४० मा संसदीय दल सम्बन्धी व्यवस्था छ। उपदफा (२)मा संसदीय दलमा प्रतिनिधि सभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ। -रासस