सबै पार्टीले नोक्सानी बेहोरे, कांग्रेसले फाइदा लियो: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसलाई मात्र फाइदा भएको बताएका छन्।
एकीकृत समाजवादीका नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
यो चुनावले कुनै पनि पार्टीलाई बहुमत नदिएको भए पनि कांग्रेसलाई फाइदा भएको उनको भनाइ थियो। “चुनावले कुनै एउटा पार्टीलाई बहुमत दिएको छैन,” अध्यक्ष नेपालले भने, “अरू जम्मै पार्टीले नोक्सानी बेहोरे, फाइदा लियो नेपाली कांग्रेसले।”
उनले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। यससँगै नयाँ शक्ति पनि आएकाले सबैको समीक्षा गरेर अघि बढ्नुपर्ने बताए।
प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसले ८९, नेकपा (एमाले)ले ७८, नेकपा (माओवादी केन्द्र) ले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपाले १४, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी) ले १०, जनमत पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले एक(एक सीट जितेका छन्। त्यस्तै, पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
उनले गठबन्धन कायमै रहने बताए। “गठबन्धनलाई कायम राख्नेछौं। गठबन्धनकै सरकार बन्ने आशा गरेका छौं,” नेपालले भने, “गठबन्धनमा रहेका अरू दलका नेतामा अहङ्कार छ भने उनीहरूलाई चाहिएको छैन भन्ने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न तयार छौं।”
उनले गैरवामपन्थी वा वामपन्थी सरकार भ्रम मात्रै भएको बताए। “कसैले गैरवामपन्थी सरकारको कुरा उठाउने गरेको छ, त्यो पनि खयाली पुलाव मात्रै हो। कसैले वामपन्थीको मात्रै सरकार बनाउ भनेर सोचिरहेको छ, त्यो अलमल्याउने कुरा मात्रै हो,” उनले भने।
अध्यक्ष नेपालले एमाले नेतृत्व सुध्रिएमा सँगसँगै जान सक्ने सङ्केत गरे। “एकातिर हामीले मित्रहरूको खोजी र पहिचान पनि गर्नुपर्छ,” नेपालले भने, “मान्छेमा परिवर्तन, रूपान्तरण भइरहेको छ भने, आत्मालोचना देखिएको छ भने साँच्चै सुध्रिएको अवस्था देखिएको छ भने आग्रह पालेर नबस्ने।”