कैलालीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ।
आइतबार साँझ घोडाघोडी नगरपालिका-१ का २८ वर्षीय विकास सुनारमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए।
उनका अनुसार, अत्तरियामा रहेको सुनचाँदी पसल बन्द गरेर घर जाने वेला अत्तरियाको पूर्वी रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको हो। मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
उनलाई दुई वटा गोली लागेको छ। उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।
गोली लागेपछि उनलाई अत्तरियास्थित पद्मा अस्पताल भर्ना गरिएको थियो। प्राथमिक उपचारपछि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको हो।
व्यवसायी सुनारको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डीएपसी जोशीले बताए।