विशेष अदालतको फैसलाप्रति अख्तियारको असन्तुष्टि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले दायर गरेको मुद्दामा विशेष अदालतको फैसलाप्रति सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेको छ।
अख्तियारले आज पत्रकार सम्मेलन गरेर असन्तुष्टि पोखेको हो। पत्रकार सम्मेलनमा अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर र न्यायिक मूल्यमान्यता विपरीत फैसला भएकाले पुनरावेदनमा जाने निर्णय भएको बताए।
अख्तियारले गत साउन १० देखि कात्तिक २१ सम्म ११२ वटा मुद्दामा पुनरावेदन गरिएको आँकडा समेत सार्वजनिक गरेको छ। मुद्दा छिन्ने शुरू अदालतले गरेको फैसला चित्त नबुझे अभियोजन लगाउने (पक्ष) र प्रतिवादी (विपक्षी) दुवैलाई पुनरावेदन गर्ने अधिकार हुन्छ। तर‚ अख्तियारले भने सार्वजनिक रूपमै विशेष अदालतको फैसलामा चित्त नबुझेको टिप्पणी गरेर विशेष अदालतको निष्पक्ष न्याय सम्पादनमाथि प्रश्न उब्जाइदिएको छ।
अख्तियारले सार्वजनिक गरेको विवरण अनुसार‚ विशेष अदालतले सबैभन्दा बढी स्टिङ अपरेशन मार्फत घूस-रिसवत लिई भ्रष्टाचार गरेको आरोप लगाइएको मुद्दामा अभियुक्तहरूलाई सफाइ दिएको छ। यस्ता १०४ वटा मुद्दामा पुनरावेदन गरिएको अख्तियारले जनाएको छ।
डेढ वर्षअघि सर्वोच्च अदालतले अख्तियारको स्टिङ अपरेशनलाई गैरकानूनी भन्दै अभियोजन लगाउने पक्ष आफैंले प्रमाणको सिर्जना गर्न नसक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नियमावलीको नियम ३० खारेज गरिदिएको थियो। त्यसपछि स्टिङ अपरेशनका मुद्दामा त्यसरी खडा गरिएको प्रमाणलाई अदालतले अपवाद बाहेक ग्रहण गर्न छाडेको हो। अख्तियारका प्रवक्ता भण्डारीले भने स्टिङ अपरेशनलाई आधार मानेर अन्य प्रमाण भएका मुद्दामा समेत अभियुक्तलाई सफाइ दिन थालेपछि पुनरावेदनलाई प्राथमिकतामा राखेको जानकारी गराए।
स्टिङ अपरेशन बाहेक गलत प्रतिवेदन तथा झूटा बिल भर्पाई पेश गरी अनियमितता गरेका चार वटा मुद्दामा पुनरावेदन गर्ने अख्तियारले जनाएको छ। सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको एउटा र गैरकानूनी लाभ लिएको दुई वटा मुद्दामा पनि अख्तियारले पुनरावेदन गरेको छ।
राज्य संयन्त्रमा प्रभाव जमाउनेहरूको मुद्दामा विशेष अदालतले सफाइ दिएपछि पुनरावेदन नगर्ने गरेको आरोप लाग्ने गरेको पृष्ठभूमिमा अख्तियारले पुनरावेदन गरिएका मुद्दाको विवरण सार्वजनिक गरेको छ।