माओवादीद्वारा द्वन्द्वपीडितलाई ‘मार्ने धम्की’
नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूले द्वन्द्वपीडितलाई मार्ने धम्की दिएका छन्।
सुर्खेतका खड्ग विक, बलबहादुर कठायत र वसन्त परियारले आफूलाई मोबाइलबाट ज्यान मार्ने धम्की दिएको द्वन्द्वपीडित पूर्णप्रसाद पौडेलले जानकारी दिए। विक सुर्खेतको चौकुने गाउँपालिका अध्यक्ष समेत हुन्। गत स्थानीय निर्वाचनमा कांग्रेसको भोट मद्दतले उनले चुनाव जितेका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध उजुरी दिएको भन्दै आफूलाई ज्यान मार्ने धम्की आएको पौडेलले बताए। “कात्तिक १० गते राति १० बजे चार वटा फरक फरक नम्बरबाट धम्की आयो, एक जनाले नाम खुलाएन,” पौडेलले भने, “पहरालाई कुहिनोले हानेर फुटाउन खोज्नु मूर्खता हो, अब कति दिन बाँच्लास् भनेर धम्काए।”
पौडेल र अर्का द्वन्द्वपीडित ज्ञानेन्दराज आरणले माओवादी अध्यक्ष दाहाल विरुद्ध कात्तिक ८ गते राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेका थिए। त्यही निवेदनलाई लिएर मार्ने धम्की आएको पौडेल बताउँछन्।
चौकुनेका अध्यक्ष खड्ग विकले भने आफूले कसैलाई मार्ने धम्की नदिएको बताए। उनले हिमालखबरसँग भने, “पूर्णप्रसाद पौडेललाई मैले चिनेकै छैन।”
द्वन्द्वपीडित पौडेल भने राति १० देखि ११ बजेको बीचमा पटक पटक धम्की आएको बताउँछन्। आफूलाई धम्की आएका सबै नम्बर सेभ गरेर राखेको उनले बताए।