देशमा भित्रिनेभन्दा बाहिरिने प्रत्यक्ष वैदेशिक लगानी धेरै
देशमा भित्रिनेभन्दा बाहिरिने प्रत्यक्ष विदेशी लगानीको रकम बढी देखिएको छ।
नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महीना (साउन-भदौ)को तथ्याङ्कले खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक देखाएको छ। खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक हुनुको अर्थ देशमा भित्रिएको भन्दा बाहिरिएको विदेशी लगानी रकम धेरै भएर हो।
दुई महीनामा नेपालमा ९९ करोड ७६ लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यो गत वर्षको यही अवधिको तुलनामा दुई तिहाइभन्दा धेरैले घटेको हो।
तर, यही अवधिमा नेपालबाट एक अर्ब ८० करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानीको रकम फिर्ता गएको छ। गत वर्षको यही अवधिमा २३ करोड मात्रै प्रत्यक्ष वैदेशिक लगानी फिर्ता गएको थियो। कुन कम्पनी र व्यवसायमा गरिएको विदेशी लगानीको रकम फिर्ता गएको खुलेको छैन। गत आर्थिक वर्ष २०७८/७९ मा ६५ करोड ८६ लाख प्रत्यक्ष वैदेशिक लगानी फिर्ता गएको थियो।
नेपाल राष्ट्र ब्यांकका प्रवक्ता डा. गुणाकर भट्टले देशमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको रकमभन्दा देशबाट बाहिरिएको प्रत्यक्ष वैदेशिक लगानी धेरै देखिएको बताए। यस बाहेक वैदेशिक लगानीको नाफा, विभिन्न विदेशी वस्तु र सेवाको प्रयोगमा तिर्नुपर्ने व्यावसायिक रोयल्टीमा पनि रकम बाहिरिने उनले बताए।
भित्रिनेभन्दा बाहिरिने प्रत्यक्ष वैदेशिक लगानी रकम धेरै हुनुले देशमा लगानीको वातावरण कमजोर भएको सङ्केत गर्छ। नेपालमा अपेक्षाकृत थोरै मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिन्छ। गत आर्थिक वर्षमा १८ अर्ब ५६ करोड खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो।
प्रत्यक्ष वैदेशिक लगानीको रकम धेरै बाहिरिंदा अर्थतन्त्रमा देखा परेको विदेशी मुद्राको सञ्चितिको चाप समेत थप चर्किन्छ। राष्ट्र ब्यांकका अनुसार, गत भदौसम्म नेपालसँग नौ अर्ब ३५ करोड डलर बराबरको विदेशी मुद्राको सञ्चिति थियो। यो एक वर्षअघिको तुलनामा १५ प्रतिशतले घटेको हो। गत वर्षको भदौमा नेपालसँग ११ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्राको सञ्चिति थियो।
विदेशी मुद्राको सञ्चिति लगातार घटिरहेपछि सरकारले विभिन्न वस्तुको आयात निरुत्साहन तथा नियन्त्रण लगाएको छ। यद्यपि, विदेशी मुद्राको सञ्चिति घट्ने क्रम थामिएको छैन।
राष्ट्र ब्यांकका अनुसार, आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म नेपालमा ५५ देशका लगानीकर्ताको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानीको रकम सञ्चित छ। छिमेकी देश भारतबाट सबैभन्दा धेरै ७५ अर्ब ८१ करोड तथा चीनबाट ३३ अर्ब प्रत्यक्ष वैदेशिक लगानी भएको छ।
त्यसपछि आयरल्यान्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्याङ्क छ। नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा छ।