अझै सयमा १८ जना नेपाली गरीब, आठ वर्षमा बहुआयामिक गरीबीको दरमा ठूलो सुधार
एक सय जनामा १८ जना नेपाली अझै गरीब रहेको नयाँ अध्ययनले देखाएको छ।
विश्वव्यापी बहुआयामिक गरीबी सूचकाङ्क २०२२ ले नेपालमा बहुआयामिक गरीबीको दर १७.७ प्रतिशत रहेको देखाएको हो। ४.९ प्रतिशत गम्भीर खाले बहुआयामिक गरीबीमा छन्। यद्यपि, यो कोभिड–१९ शुरू हुनुअघि सन् २०१९ को तथ्याङ्कमा आधारित छ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) तथा अक्सफोर्ड गरीबी र मानव विकास पहलद्वारा सार्वजनिक गरिएको तथ्याङ्कले बितेको दशकमा नेपालले गरीबी न्यूनीकरणमा उल्लेख्य सफलता पाएको उल्लेख गरेको छ। सन् २०११ मा ३९.१ प्रतिशत रहेको बहुआयामिक गरीबी दर सन् २०१९ मा १७.७ प्रतिशतमा झरेको औंल्याइएको छ। सरसफाइमा भएको व्यापक सुधारका कारण बहुआयामिक गरीबी दर घट्न सहयोग पुगेको प्रतिवेदनले जनाएको छ।
सन् २०११ मा नेपालको बहुआयामिक गरीबी ०.१८५ रहेकोमा सन् २०१६ मा घटेर ०.१११ मा ओर्लिएको थियो। त्यसै गरी, सन् २०१९ मा यो ०.०७५ प्रतिशतमा झरेको थियो।
यसरी गरीबी घट्नुमा सरसफाइको क्षेत्रमा भएको सुधारलाई महत्त्वपूर्ण कारक मानिएको छ। सरसफाइमा सुधार हुँदा बाल मृत्युदर घट्न, बाल पोषण तथा खानेपानीमा पहुँच वृद्धिमा योगदान पुगेको छ। सन् २०११ मा ६०.६ प्रतिशत नागरिक सरसफाइको सुविधा नभएको स्थितिमा रहेकोमा सन् २०१९ मा यो संख्या २१.४ प्रतिशतमा झरेको थियो।
राष्ट्रिय योजना आयोगले २०७४ मा सार्वजनिक गरेको बहुआयामिक गरीबी सूचकाङ्क सम्बन्धी प्रतिवेदनले पनि बितेको दशकमा गरीबी न्यूनीकरणमा ठूलो सफलता मिलेको उल्लेख थियो। सन् २००६ मा ५९.३९ प्रतिशत रहेको बहुआयामिक गरीबी दर सन् २०१४ मा २८.६ प्रतिशतमा ओर्लिएको प्रतिवेदनले देखाएको थियो।
यद्यपि, सन् २०१९ मा कोरोना महामारी शुरू भएसँगै लगाइएको बन्दाबन्दी र आर्थिक क्रियाकलाप सुस्ताउँदा गरीबीदर बढेको हुन सक्ने अनुमान गरिएको छ। अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठ सहितको समूहले गरेको अध्ययनले कोभिड–१९ का कारण झण्डै १२ लाख थप नेपाली आर्थिक हिसाबले गरीबीको रेखामुनि ओर्लिएको अनुमान गरिएको छ।
कुपोषण, न्यून शिक्षा, सरसफाइको अपर्याप्तता लगायतका सूचकमा आधारित रहेर बहुआयामिक गरीबी सूचकाङ्क निकालिन्छ। स्वास्थ्य, शिक्षा र जीवनस्तरसँग सम्बन्धित सूचकका आधारमा यसको मापन गरिन्छ। बाल पोषण र बाल मृत्युदर, विद्यालय गएको औसत वर्ष, खाना पकाउने इन्धन सुविधा, सरसफाइको स्थिति, खानेपानीको पहुँच, विद्युत् सुविधा, घरको स्थिति, सम्पत्तिको स्वामित्व जस्ता सूचकलाई आधार बनाएर यस्तो मापन हुन्छ।
नेपालमा अधिकांश बहुआयामिक गरीबीमा परेका व्यक्तिको सम्पत्तिको स्वामित्व, घर, खाना पकाउने इन्धन तथा विद्यालयमा बिताएको वर्ष जस्ता क्षेत्रका सूचक कमजोर रहेको प्रतिवेदनले औंल्याएको छ। अर्थात्, यी क्षेत्रमा थुप्रै सुधार आवश्यक छ। जीवनस्तरका आधारमा हेर्दा ४३ प्रतिशत नेपाली अझै पनि गरीब रहेको तथ्याङ्कले देखाएको छ।
गरीबीलाई मापन गर्ने विभिन्न विधि छन्। बहुआयामिक गरीबी नाप्न शिक्षा, स्वास्थ्य, सम्पत्ति लगायतका सूचक हेरिन्छ। आम्दानीका आधारमा गरीबी नाप्ने विधि सर्वाधिक प्रचलित छ।
पछिल्लो पटक नेपाल जीवनस्तर सर्वेक्षण २०६६/६७ ले करीब एक चौथाइ नेपाली आय र खर्चका हिसाबले गरीबीको रेखामुनि रहेको देखाएको थियो। त्यसयता यस्तो तथ्याङ्क दिने सर्वेक्षण भएको छैन। राष्ट्रिय तथ्याङ्क कार्यालयले यो वर्ष नयाँ जीवनस्तर सर्वेक्षण गरिरहेको छ। यसले गरीबीबारे नयाँ तथ्याङ्क दिनेछ।