आगामी दिनमा पार्टीको गति र मति अनुरुप अगाडि बढ्छु: भीम रावल
नेकपा (एमाले)का नेता भीम रावलले आगामी दिनमा राष्ट्रिय राजनीति, पार्टीको गति र मतिका आधारमा अगाडि बढ्ने बताएका छन्।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि उनी पार्टी नेतृत्वको आलोचना गर्दै आएका थिए।
उनी अछाम १ बाट प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिश भएका थिए। तर, एमाले केन्द्रले भने उनको ठाउँमा झपटबहादुर बोहरालाई उम्मेदवार बनाएको छ।
उनीसँगै घनश्याम भुसालले पनि टिकट पाएका थिएनन्। भुसालले एमाले परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
रावलले भने अब के गर्ने भन्ने विषयमा निक्र्योल गर्न सकेका छैनन्। पत्रकार सम्मेलनमा उनले भने, “आगामी दिनहरूमा राष्ट्रिय राजनीति, पार्टीको गति र मति अनुरुप नै मेरा पाइलाहरु अगाडि बढ्नेछन्।”
उनले आगामी निर्वाचनमा देश र जनतालाई सर्वोपरी ठान्ने उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। रावलले भने, “आगामी मंसीर ४ गते हुने आम निर्वाचनलाई पनि देश र जनताको सर्वोपरी हित र स्वाभिमानको रक्षा एवं सम्बद्र्धन गर्नेे अवसरको रुपमा सदुपयोग गर्दै सोही अनुरुप उम्मेदवारहरूलाई विजयी तुल्याउन मेरो आग्रह छ।”