सरकार डेंगी नियन्त्रणमा उदासीन भयोः पूर्व स्वास्थ्य मन्त्री तामाङ
पूर्व स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले डेंगी संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै सरकारको आलोचना गरेका छन्।
नेकपा (एमाले)का नेता समेत रहेका तामाङले डेंगी संक्रमणले भयावह रूप लिइसक्दा समेत सरकार उदासीन रहेको विज्ञप्ति मार्फत बताएका छन्। उनले डेंगी नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग जोडदार माग गरेका छन्।
“दिनानुदिन फैलिइरहेको डेंगी नियन्त्रणका लागि संघीय सरकारले कुनै प्रभावकारी कदम चालेको देखिएन‚” विज्ञप्तिमा उल्लेख छ‚ “दिनदिनै गठबन्धनको सीट बाँडफाँडमा बालुवाटारमा व्यस्त सरकारका प्रतिनिधिहरू जनताको स्वास्थ्यप्रति बिल्कुलै उदासीन हुनु दुर्भाग्य हो।”
तामाङले आफू स्वास्थ्य मन्त्री भएको वेला कोभिड-१९ को खोप अनुदान र खरीद गरेर ल्याएको स्मरण गरेका छन्। साथै‚ एमाले अध्यक्ष केपी शर्माको नेतृत्वको सरकार रहेको वेला कोभिड नियन्त्रण गर्न नसकेको भन्दै आलोचना गर्नेहरू डेंगी नियन्त्रणमा किन चुकिरहेका छन् भनी प्रश्न समेत गरेका छन्।
उनले एमालेका कार्यकर्तालाई बडा दशैंलाई डेंगीका नियन्त्रणको काममा उपयोग गर्न अपील गरेका छन्।