सन्दीप विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको छ।
नेपाल प्रहरीको इन्टरपोल शाखाको प्रस्तावमा इन्टरपोलले लामिछानेलाई पक्राउ गर्न ‘डिफ्युजन नोटिस’ जारी गरेको हो। लामिछाने विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले बताए।
प्रहरीले विदेशमा रहेका व्यक्तिलाई पक्राउ गर्न प्रहरीको अन्तरदेशीय संगठन इन्टरपोलको सहयोग लिने गरेको छ। यसमा नेपाल सहित १९४ देशका प्रहरी संगठन आबद्ध छन्।
अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न इन्टरपोल मुख्यालयले जारी गर्ने सूचनालाई ‘रेड कर्नर नोटिस’ भन्ने गरिन्छ। तर, कुनै पनि देशको इन्टरपोल शाखाको प्रस्तावमा इन्टरपोलले जारी गर्ने सूचनालाई ‘डिफ्युजन नोटिस’ भन्ने गरिएको प्रहरी अधिकारी बताउँछन्। दुवैको प्रयोजन एउटै हुने गरेको प्रहरीको भनाइ छ।
यसअघि नेपाल प्रहरीले लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरेको थियो। उनी विदेशमा रहेकाले इन्टरपोल शाखा मार्फत ‘डिफ्युजन नोटिस’ जारी गरिएको प्रहरीले जनाएको छ।
लामिछाने विरुद्ध बलात्कारको आरोपमा गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा उजुरी परेको थियो। गत भदौ ६ गते राति जबर्जस्ती करणी गरेको भन्दै पीडित बालिकाले उजुरी दिएकी थिइन्।
उजुरी पर्नुअघि नै राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गर्दै लामिछाने केन्या गएका थिए। केन्यासँगको प्रतियोगिता सकिएपछि राष्ट्रिय टोलीका अन्य खेलाडी फर्किएका थिए भने उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज गएका थिए।
त्यहीं छँदा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनले सीपीएल पनि छाडेका जानकारी दिएका थिए। सामाजिक सञ्जाल मार्फत छिटै नेपाल फर्किने बताएका थिए। तर, लामो समयसम्म उनी नफर्किएपछि प्रहरीको आलोचना भइरहेको थियो।
उनले असोज ९ गते राति सामाजिक सञ्जाल मार्फत नेपाल फर्किने तरखर गरिरहेको बताएका थिए। मानसिक तनाव र स्वास्थ्य समस्याका कारण ‘आइसोलेशन’ मा बसिरहेको लामिछानेले बताएका थिए। आफू विरुद्ध परेको मुद्दाको सामना गर्न नेपाल फर्किने बताएका थिए।
सामाजिक सञ्जाल मार्फत नेपाल फर्किने तयारीमा रहेको बताएको भोलिपल्ट नै प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गर्न लगाएको हो। यो सूचना जारी भएसँगै उनी पक्राउ पर्ने प्रहरीको भनाइ छ।