आजदेखि अस्थायी मतदाता नामावली संकलन

आगामी प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगले आजदेखि अस्थायी नामावलली संकलन तथा अद्यावधिक गर्ने भएको छ।
आयोगबाट स्विकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले अस्थायी मतदाता नामावलीमा नाम समावेश गर्न भएको हुनुपर्नेछ। अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।
सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा/कैदी‚ निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी‚ सरकारबाट स्वीकृत लिई सञ्चालित वृद्धाश्रममा रहेका व्यक्तिको अस्थायी मतदाता नामावलीमा नाम समावेश गर्न पाउने छन्।
नाम समावेश गर्न ती व्यक्तिहरू रहेको कार्यालय प्रमुखले प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा असोज ८ देखि २६ गतेसम्म पठाउनु पर्ने आयोगले जनाएको छ। यसरी पठाइएको नाम कात्तिक १ सम्म रुजु गरी सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन, कात्तिक २ देखि ३ गते नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले सच्याउन निवेदन दिने, कात्तिक ४ गते निवेदन उपर जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दावी विरोधका लागि निवेदन पेश गर्ने, दावी विरोधको निवेदन उपर कात्तिक ७ देखि ११ गतेसम्म जाँचबुझ गरी निर्णय गर्ने, कात्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने र कात्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।