‘विधेयक प्रमाणीकरण नहुनुमा दलहरूको अकर्मण्यता र स्वार्थको दाउपेच जिम्मेवार’
पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकता विधेयक प्रमाणीकरण नहुनुको दोष संसद् र राजनीतिक दलहरूले पनि बोक्नुपर्ने बताएकाे छ।
रास्वपाका प्रवक्ता मुकुल ढकालद्वारा असोज ५ गते जारी विज्ञप्तीमा विधेयक प्रमाणीकरण नहुनु्को दोष राष्ट्रपतिले मात्रै होइन, संसद् र राजनीतिक दलहरूले पनि बोक्नुपर्ने उल्लेख छ।
“राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नहुनुका कारण उठेको संवैधानिक प्रश्नको निक्र्योल न्यायालयले गर्ने नै भए तापनि वर्तमान परिस्थिति आउनुमा राजनीतिक दलहरूको अकर्मण्यता र राजनीतिक स्वार्थको दाउपेच जिम्मेवार रहेको स्पष्ट छ” विज्ञप्तीमा भनिएको छ।
प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक राष्ट्रहितमा नभएको विज्ञप्तीमा दाबी गरिएको छ।
विधेयकका लागि संसदीय समितिमा भएका छलफललाई अर्थहिन बनाउनुबाटै समस्याको शुरुआत भएको रास्वपाको ठहर छ। यो विधेयकमा सत्तापक्षले बलमिच्याईँ र प्रतिपक्षले राजनीतिक अभिष्ट पुरा गर्न खोजेको विज्ञप्तीमा उल्लेख छ।
प्रवक्ता ढकालले भनेका छन्, “राष्ट्रपतिबाट नागरिकतामा प्रादेशिक पहिचान र आमाको सम्मान लगायतका विषयमा दिइएका मनन योग्य सुझाव समेत वेवास्ता गरेर सत्ता पक्षको बल मिच्याईं हावी रहिरहनुले पनि यो परिस्थिति सिर्जना भएको हाम्रो ठहर छ।”