देशभरबाट निस्कन्छ वर्षमा १० लाख टन फोहोर
एक वर्षमा देशभरबाट १० लाख टन फोहोर निस्किने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको ‘सोलिड वेस्ट अकाउन्ट फर अर्बन म्युनिसिपालिटी अफ नेपाल’ अध्ययनमा देशभर वार्षिक १० लाख टन फोहोरमैला उत्पादन हुने गरेको उल्लेख छ।
जसमा आवासीय क्षेत्रबाट तीन लाख ८६ हजार ६९० टन, व्यापारिक क्षेत्रबाट दुई लाख ४५ हजार ८८४ टन, शैक्षिक क्षेत्रबाट एक लाख तीन हजार २४४ टन, औद्योगिक क्षेत्रबाट ९४ हजार ३९२ टन, स्वास्थ्य सेवाका क्षेत्रबाट एक लाख एक हजार ५०७ टन र अन्य क्षेत्रबाट ६६ हजार २२० टन फोहोर निस्कन्छ।
यसरी उत्पादित फोहोरमैलामध्ये सबैभन्दा बढी वार्षिक तीन लाख ८९ हजार ९८३ टन ल्यान्डफिल साइटमा विसर्जन हुने गरेको छ। त्यस्तै, तीन लाख १५ हजार ६९ टन नदी किनार तथा बगर जस्ता वातावरणीय क्षेत्रमा जाने र २२ हजार ७५ टन दहन गरिने पाइएको छ।
फोहोरमैलाको पुनः उपयोगमा जान सक्ने प्लास्टिक, धातु, कागज तथा कागजजन्य वस्तु अत्यन्तै न्यून आठ हजार ६९० टन रहेको प्रतिवेदनमा उल्लेख छ।
यससँगै अध्ययनले नेपालका स्थानीय, प्रादेशिक तथा संघीय तहमा समेत फोहोरमैला सम्बन्धी तथ्याङ्कहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तथा एसईईए ढाँचा अनुरूप नरहेको समेत देखाएको छ।
नेपालका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा अन्य सम्बद्ध संघसंस्थाले फोहोरमैलाको वर्गीकरण, उत्पादन तथा खपत मात्रा सम्बन्धी तथ्याङ्क (एसईईए) ढाँचा अनुरूप सङ्कलन गर्न आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ। यसका लागि स्थानीय, प्रादेशिक तथा संघीय तहका फोहोरमैला व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण पेशाकर्मी तथा सरोकारवालाको क्षमता अभिवृद्धि गर्न आवश्यक देखिएको प्रतिवेदनमा सुझाव दिइएको छ।