खोचमा खसेका शिक्षकको यसरी गरियो उद्धार (तस्वीरहरू)
नुहाउने क्रममा चिप्लिएर खोचमा खसेका शिक्षकको सुरक्षाकर्मीको टोलीले २४ घण्टापछि सकुशल उद्धार गरेको छ।
दोलखाको कालिञ्चोक गाउँपालिका-३ का ३७ वर्षीय केशव सिवाकोटी असोज १ गते दिउँसो हेलम्बु गाउँपालिका-१ स्थित छ्यादी खोलामा नुहाउने क्रममा चिप्लिएर खसेका थिए। उनी खसेर दुई सय मिटर तल खोचमा अड्किएका थिए।
उनी हेलम्बु-१ स्थित सर्कथली आधारभूत विद्यालयमा कार्यरत छन्। उनी नुहाउन स्थानीय छ्यादी खोलामा गएका थिए।
खोचमा अड्किएका उनलाई उद्धारका लागि स्थानीय बासिन्दाले पहल गरेका थिए। तर, नसकेपछि नेपाली सेनालाई खबर गरेका थिए।
नेपाली सेनाको ‘क्विक रिस्पोन्स टीम’ हेलिकप्टर मार्फत घटनास्थल पुगेको थियो। सैनिक टोलीले आज दिउँसो १२ः०२ बजे उनको उद्धार गरेको हो।
सुरक्षाकर्मीको टोली डोरीको सहायतामा खोचमा पुगेको थियो। खोचबाट उनलाई बाहिर निकाल्न सफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
उनलाई नेपाली सेनाको एनए-०५८ हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ। उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ।