राष्ट्रपतिद्वारा पाँच विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनले पारित गरी पठाएका पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकबाट पारित भई पेश भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
राष्ट्रपतिले तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक‚ स्टाण्डर्ड नाप र तौल ऐन‚ २०२५ लाई संशोधन गर्न बनेको विधेयक‚ प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक‚ सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।