चिनियाँ नेता चान्शुको उच्चस्तरीय भेटवार्ता
नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चान्शुबीचले उच्चस्तरीय भेटवार्ता शुरू गरेका छन्।
चान्शुले आज बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना‚ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। नयाँ बानेश्वरस्थित सङघीय संसद् भवनमा आज भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।
भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुवास नेम्बाङ, नेताहरू राजन भट्टराई, अन्जान शाक्यलगायत सहभागी थिए। यस्तै‚ माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्ल सहभागी थिए।
चान्शु सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार काठमाडौं आइपुगेका हुन्। अध्यक्ष चान्शुले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने जनाइएको छ।
अध्यक्ष चान्शुको नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ।