प्रधानमन्त्रीको प्रदेशमा डा.केसीको २०औं सत्याग्रह
चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीले सुदूरपश्चिमको धनगढीमा २०औं सत्याग्रह शुरू गरेका छन्।
काठमाडौंबाट सोमबार धनगढी पुगेका डा.केसीले साँझबाटै सत्याग्रह थालेका हुन्। यस पटकको सत्याग्रहका लागि उनले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश रोजेका छन्।
धनगढी पुगेर सात बुँदे माग राख्दै डा. केसीले सत्याग्रह थालेको घोषणा गरे। प्रधानमन्त्री देउवाले माग पूरा गर्छु भनेर झुलाएकाले उनकै प्रदेशमा गएर सत्याग्रह शुरू गरेको डा.केसीको भनाइ छ।
उनले सत्याग्रह शुरू गरेको धनगढी कैलाली निर्वाचन क्षेत्र नं. ५ मा पर्छ। प्रधानमन्त्री पत्नी आरजु राणा आगामी निर्वाचनका लागि यहि क्षेत्रबाट उम्मेदवार सिफारिश भएकी छन्। उनले २०७४ को निर्वाचनमा पनि यहि क्षेत्रबाट प्रतिस्पर्धा गरेकी थिइन्।
यसअघि उनले भदौ १२ गते सत्याग्रहमा बस्ने घोषणा गरेका थिए। सरकारले माग पूरा गर्न दुई साता समय मागेको भन्दै सारेका थिए। दुई सातासम्म पनि सरकारले वास्ता नगरेपछि सत्याग्रहमा बस्न बाध्य भएको डा.केसीले बताएका छन्।
यस्ता छन् केसीका मागः
१) स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्।
२) जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरियोस्।
३) संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्।
४) सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्।
५) स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्।
६) देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस्।