एक लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलेको छ।
प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी ‘म्यादी प्रहरी भर्ना छनौट‚ नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड २०७९’ अनुसार भर्ता आह्वान गरेको ह्यो। भर्नाका लागि भदौ ३० देखि असोज ६ गतेसम्म दरखास्त दिन सकिने छ। दरखास्त १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको र साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
म्यादी प्रहरीमा भर्ना हुन नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको‚ राजनीतिक दलको सदस्य नरहेको‚ शारीरिक तथा मानसिक रुपले स्वास्थ रहेको‚ आताङ्कारी संगठनको सदस्य नरहेको‚ आँखा माइनस दुई वा प्लस दुईभन्दा बढी कमजोर नभएको‚ गर्भवती नभएको हुनुपर्ने जनाइएको छ।
छनोट प्रक्रिया असोज ९ गतेदेखि १४ गतेसम्म हुने र अन्तिम नतिजता असोज २५ गते आउने सूचनामा जनाइएको छ। छनोट भएकाहरूलाई असोज ३० देखि कात्तिक ८ सम्म तालीम दिइने छ।
म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुने छ। उनीहरूलाई प्रतिदिन ८६९ का दरले ४० दिनको ३४ हजार ७६० रुपैयाँ तलब दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। तलब बाहेक खाद्यान्न बापत एकमुष्टठ सात हजार २००‚ तोकिएको पोशाक तथा अन्य समान खरीद गर्न ६ हजार र हिमाली जिल्लामा खटिनेहरूलाई ज्याकेट खरीदका लागि थप एक हजार रुपैयाँ दिइने छ। आवत-जावत खर्च तीन हजार र ३०० रुपैयाँ दरले चार दिनको खाजा खर्च पाउने जनाइएको छ।