दार्चुलामा बाढीले तहसनहस (तस्वीरहरू)
महाकाली नदी र लास्कुखोलामा आएको बाढीले दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा क्षति पुगेको छ।
गएरातिदेखि आएको बाढीले एक दर्जनभन्दा बढी घर बगाएको छ। घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ भने सात जना हराईरहेको जिल्ला प्रशासन कार्यालय, दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताइन्।
उनका अनुसार महाकाली नगरपालिका-२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा, महाकाली-३ डुङरीकी ३५ वर्षीया मानमति कार्की, नौगाड गाउँपालिका-१ की ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र नौगाड-२ का ४५ वर्षीय मोहनराम पार्कीको मृत्यु भएको छ।
पहिरोमा परी नौगाड-४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन्। उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको साउदले बताइन्।
यस्तै बाढी पहिरोमा महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जना हराइरहेका छन्। उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजि गरिरहेका छन्।