दार्चुलामा बाढी, एकको मृत्यु, ६ जना सम्पर्कविहीन
महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा धनजनको क्षति भएको छ।
बाढीले बंगाबगड क्षेत्रका डेढ दर्जन घर बगाएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिए। उनका अनुसार घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ६ जना सम्पर्कविहीन भएका छन्।
महाकाली नगरपालिका-३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह कार्की, मानमती कार्की, दीपक कार्की र दिनेश कार्की सम्पर्कविहीन भएका छन्।
त्यस्तै, नौगाड गाउँपालिकामा ३५ वर्षीय चिमणे ठगुन्नाको मृत्यु भएको छ। एक जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले दुई जनाको उद्दार गरेको छ।
उद्धार गरिएका नौगाडका कासी ठगुन्ना र रम्बा ठगुन्ना गम्भीर घाइते रहेका छन्। उनीहरूको टाउँको र शरीरमा चोट लागेको छ।
दुवै जनालाई उपचारको लागि हेलिकोप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। जोखिम क्षेत्रमा रातिबाटै सुरक्षाकर्मी खटिएको उपाध्यायले बताए।
बाढीले घरसँगै लास्कु खोलाको झोलुङ्गे पुल पनि बगाएको छ। अहिले पनि उद्धार कार्य जारी नै रहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै महाकाली नगरपालिका–३ लास्को खोलाले रोकेर राखेका सातवटा गाडीसमेत बगाएको छ। घटनास्थल क्षेत्रमा उद्धारकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।
गएरातिदेखि परेको अविरल वर्षाले दार्चुला तिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको हो। पानी पर्न छोडे पनि नदी कटान यथावत रहेको छ। जिल्ला प्रशासन कार्यालयले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।