गठबन्धनको विरोधमा नबोल्न देउवाको निर्देशन
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको विरोधमा नबोल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
कांग्रेस चितवनद्वारा शुक्रबार आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धनको विरोधमा नबोल्न निर्देशन दिएका हुन्। “गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र हो,” देउवाले भने, “बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ। यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन।”
उनले गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको जिकिर गरे। “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि,” देउवाले भने।
गठबन्धनबाट बढीभन्दा बढी फाइदा हुने गरी लागिरहेको उनको भनाइ थियो। देउवाले भने, “गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौं, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन। यसमा ठूलो सहयोग भएको छ। गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन।”
गठबन्धनर्क कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गरेको उनको जिकिर थियो। यससँगै नेकपा (एमाले) को एकलौटी अन्त्य भएको उनको भनाइ थियो। एमालेलाई इंगित गर्दै देउवाले भने, “उनीहरुको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन।”
सरकारले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भएरहीत वातावरणमा सम्पन्न गरेको उल्लेख गर्दै आगामी मंसीर ४ गते हुने हुने प्रदेश र सङ्घको चुनाव पनि शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न हुने बताए।