दशैंका लागि असोज १ देखि अग्रिम टिकट बूकिङ
दशैंका लागि आगामी असोज १ गतेदेखि अग्रिम टिकट बूकिङ खुल्ने भएको छ।
बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले आगामी असोज १ गते शनिबारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बूकिङ खुला गर्ने निर्णय गरेको हो। बैठकबाट यातायात व्यवसायीले अग्रिम टिकट बूकिङ गर्दा यथाशक्य अनलाइन बूकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बूकिङ गर्ने यात्रुलाई यथाशक्य छूट वा सहुलियत समेत प्रदान गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए।
त्यस्तै, अग्रिम टिकट बूकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, कोभिड-१९ को महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाउने निर्णय गरिएको छ।
अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने र आवश्यक सवारी साधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय भएको महासंघका महासचिव डेकनाथ गौतमले बताए।
त्यस्तै, यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि भएको छ। यससँगै यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय भएको महासचिव गौतमले बताए।
यस वर्ष असोज १० गते घटस्थापना छ। त्यस्तै, असोज १६ गते फूलपाती र असोज १९ गते विजया दशमी परेको छ।