क्यानले सन्दीपलाई तत्काल कुनै कारबाही गर्दैन: अध्यक्ष चन्द
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि तत्काल कुनै कारबाही नगर्ने जनाएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कप्तान लामिछानेलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताएका छन्। अध्यक्ष चन्दले रासससँगको कुराकानीमा भनेका छन्, “सन्दीपका बारेमा अहिले पुष्टि भइसकेको छैन। यदि सन्दीपले अनुशासन नै तोडेको हो भने त कानूनी कारबाही हुनुपर्छ।”
क्यानले तत्काल कुनै कारबाही नगर्ने उनको भनाइ छ। “कानूनी रूपमा अपराध पुष्टि नहुन्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही गरिंदैन,” अध्यक्ष चन्दले भने।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा लामिछानेले नाबालिकालाई यही भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।
अहिले लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि सेन्ट लुसियामा छन्। त्यसअघि उनी भदौ ६ गते राष्ट्रिय टोलीसँगै केन्या गएका थिए। केन्यासँग टी-२० शृङ्खला खेलेपछि उनी सीपीएल खेल्न सेन्ट लुसिया गएका थिए।