सन्दीप लामिछाने विरुद्ध बलात्कार आरोपमा जाहेरी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएकी छन्।
पीडितको तर्फबाट किशोरीका दाजुले भदौ २१ गते महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएको जिल्ला प्रहरी परिसर‚ काठमाडौंले जनाएको छ।
जाहेरी परेपछि पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा विस्तृत स्वास्थ्य परीक्षण गराई घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। “प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको‚” प्रहरीले भदौ २२ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ‚ “अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सूक्ष्म रूपमा थप अनुसन्धान भइरहेको।”
प्रहरीका अनुसार‚ भदौ ६ गते १७ वर्षीया किशोरीलाई काठमाडौं महानगरपालिका-९ स्थित एक होटेलमा पटक पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
प्रहरीले भनेको छ‚ “नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौं ल्याई रातको अं. २३:५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अं. ००:२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी दरखास्त दिएको।”
सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्।