ट्रेड सेन्टरमा फेरि राखियो डिजिटल होर्डिङ बोर्ड
काठमाडौं महानगरपालिकाले हटाएको डिजिटल होर्डिङ बोर्ड फेरि राखिएको छ।
त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएका डिजिटल होर्डिङ बोर्ड महानगरले हटाएको थियो। तर, चार दिन नबित्दै पुनः राखिएको छ।
महानगरको विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन नीति, २०७० अनुसार काठमाडौं महानगर क्षेत्रका सार्वजनिक स्थानमा अनधिकृत ढङ्गले व्यावसायिक होर्डिङ बोर्ड तथा प्रचार सामग्री राख्न पाइँदैन। त्यही नीति अनुसार महानगरले नियम विपरीत राखिएको ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड भदौ १६ गते हटाएको थियो।
फेरि होर्डिङ बोर्ड राखिएको थाहा पाएको बताउँदै काठमाडौंका महानगरका प्रवक्ता नवीन मानन्धरले त्यस विषयमा छलफल भइरहेको बताए।
“फेरि राखिएका डिजिटल होर्डिङ बोर्डका विषयमा के गर्ने भन्ने छलफलपछि तय गर्छौं,” मानन्धरले हिमालखबरसँग भने।