संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सच्याएर पारित गर्न द्वन्द्वपीडितको अपील
संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सच्याएर तत्काल पारित गर्न द्वन्द्वपीडितले सांसदहरूसँग अपील गरेका छन्।
द्वन्द्वपीडितका तर्फबाट १११ जनाले संयुक्त अपील जारी गरी सर्वोच्च अदालतका परमादेश अनुसार विधेयक संशोधन गर्न आग्रह गरेका छन्। उनीहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित काम-कारबाहीलाई नजिकबाट नियालिरहेको जनाएका छन्।
उनीहरूले भनेका छन्, ‘दशकौंदेखि आफू तथा आफन्तजनमाथि भएका हत्या, बेपत्ता, यातना, बलात्कार, अङ्गभङ्ग लगायतका घटनाको सत्यतथ्य समेत जान्नबाट वञ्चित पारिएका, पीडा र अन्यायको लगातारको बल्झाइमा पिल्सिरहेका द्वन्द्वपीडित नागरिकहरूको अवस्थाप्रति संवेदनशीलता र दायित्वबोध गर्न हामी संसदीय समिति एवम् सम्पूर्ण माननीय सांसदहरूलाई आह्वान गर्दछौं।”