ओलीको कार्यकर्तालाई निर्देशन- गँड्यौला जस्तो हैन, सर्प जस्तो डस्न तयार पनि हुनुपर्छ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बूथ कब्जा हुन सक्ने बताउँदै कार्यकर्तालाई गँड्यौला जस्तो नभई सर्प जस्तो डस्न तयार रहन निर्देशन दिएका छन्।
सुनसरीको दुहबीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी चुनावमा गठबन्धनले धाँधली गर्न सक्ने जिकिर गरे। यसअघि पनि सुनसरीमा बूथ कब्जा गरेर एमाले उम्मेदवारलाई हराएको उनको आरोप थियो।
२०७४ सालको निर्वाचनमा सुनसरी ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार निर्वाचित भएका थिए। एमाले उम्मेदवार भगवती चौधरी पराजित भएकी थिइन्। चौधरीलाई बूथ कब्जा गरेर हराइएको उनको आरोप थियो।
“दुई पटक भगवती चौधरीले जितेको क्षेत्र हो यो। तर, हार घोषणा गराइएको छ। प्रहरी प्रशासन लगाएर राज्यशक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ,” ओलीले भने।
उनले अब त्यस्तो नगर्न स्थानीय प्रशासनलाई आग्रह पनि गरे। “म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईंहरू कुनै पार्टी विशेषको कार्यकर्ता होइन। त्यस कारण तपाईंहरूले राष्ट्रसेवकको हैसियतमा निष्पक्ष भूमिका खेल्नुपर्दछ,” ओलीले भने, “मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बूथ कब्जा गर्ने, अशान्ति मच्चाउने लगायत काम हुनेछैनन्। त्यसो नगर्न सबैमा आग्रह गर्दछु।”
आगामी चुनावमा गठबन्धनले धाँधली गर्न सक्ने बताउँदै उनले कार्यकर्तालाई चनाखो भएर बस्न सचेत गराए। ओलीले भने, “एमालेका नेता-कार्यकर्ता गँड्यौला जस्तो हुने हैन। दुइटा दाँत भएको सर्प जस्तो डस्न तयार पनि हुनुपर्छ।”
जनताको मतको सुरक्षा गर्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले आगामी चुनावबाट बहुमतको सरकार बनाउनुपर्ने बताए। जनताले एमालेलाई फेरि सरकारमा पठाउने उनको दाबी थियो।