खोज पत्रकारिता केन्द्र स्थापनाको २५ वर्ष
खोज पत्रकारिता केन्द्र २५ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेपालमा अनुसन्धानमुलक पत्रकारिताको शुरुआत तथा विस्तारमा केन्द्रले पुर्याएको योगदानको चर्चा गरिएको छ।
कार्यक्रममा केन्द्रका पूर्व अध्यक्षसमेत रहेका पत्रकार कुन्द दीक्षितले लोकतन्त्रका लागि खोज पत्रकारिताको आवश्यकताका विषयमा केन्द्रित प्रमुख मन्तव्य (किनोट स्पिच) दिएका थिए। उनले खोज पत्रकारिता केन्द्रको स्थापनाको पृष्ठभूमि तथा एशियामा खोज पत्रकारिताको भूमिकाका विषयमा विचार पस्किएका थिए।
“पत्रकारिताको सार्वजतिक सेवाको भूमिका कमजोर भइरहेकाले भ्रामक, प्रायोजित सूचनासँग जुध्न हम्मे–हम्मे परेको छ,” दीक्षितले भने “मिडियाको प्रश्न गर्ने भूमिकाको प्रयोग नगर्ने हो भने लोकतान्त्रिक समाजको अभिव्यक्ति स्वतन्त्रता खुम्चन्छ।” उनले शासक–व्यापारी र मिडियाका प्रकाशकबीचको हिमचिम बाक्लो बनेका कारण मिडियाको प्रश्न गर्ने सामर्थ्य कमजोर हुन थालेको जिकिर गरे।
कार्यक्रममा बहुलताको रक्षार्थ लोकरिझँयाइको पदार्फास (अनमास्किङ पपुलिज्म टु डिफेन्ड प्लुरालिज्म) विषयमा छलफल समेत आयोजना गरिएको थियो। सम्पादकद्वय राजेन्द्र दाहाल तथा युवराज घिमिरे, स्तम्भकार सीके लाल र मानव अधिकारकर्मी मोहना अन्सारीले लोकरिझँयाइमार्फत शासकले लोकतान्त्रिक मान्यतामाथि धावा बोलिने जोखिमबारे आफ्ना विचार राखेका थिए।
नेपालमा अनुसन्धानमुलक पत्रकारितालाई बढावा दिन पत्रकार भारतदत्त कोइराला, राजेन्द्र दाहाल, कुन्द दीक्षित, कनकमणि दीक्षित लगायतको पहलमा २५ वर्षअघि खोज पत्रकारिता केन्द्र स्थापना गरिएको थियो। यो संस्थाले खोजमुलक समाचारको उत्पादन तथा खोज पत्रकारितासम्बन्धी तालीम, गोष्ठी र विमर्शको आयोजना गर्दै आएको छ।