यी हुन् एमालेबाट सिफारिश एक्ला उम्मेदवार
आगामी निर्वाचनका लागि राजनीतिक दलका क्षेत्रीय समितिहरूले उम्मेदवार सिफारिश गर्न थालेका छन्। नेकपा (एमाले) का केही उम्मेदवार भने सर्वसम्मत सिफारिश भएका छन्।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले भदौ २२ गतेसम्म उम्मेदवार सिफारिश गरिसक्न निर्देशन दिएको छ। त्यसअनुरार, धमाधम उम्मेदवार सिफारिश भइरहेका छन्।
एमालेले अनिवार्य रुपमा कम्तिमा एक जना महिला सहित बढीमा तीन जना उम्मेदवार सिफारिश गर्न भनेको छ। तर, केही निर्वाचन क्षेत्रबाट भने एक जना मात्रै उम्मेदवार सिफारिश भएका छन्।
क्षेत्रीय कमिटीले गरेको सिफारिशमा जिल्लाले आफ्नो रायसहित प्रदेश कमिटीलाई पठाउने र प्रदेशले रायसहित केन्द्रमा पठाउने एमालेको सर्कुलर छ। क्षेत्रबाटै एक जनाको मात्र नाम सिफारिश भएको अवस्थामा विवाद भएको बाहेक जिल्ला र प्रदेशले अर्को नाम नथप्ने एमालेको नीति छ।
यद्यपी तल्ला कमिटीबाट आएका सिफारिश अन्तिम भने हुनेछैन। केन्द्रले आवश्यकताअनुसार हेरफेर गर्न सक्ने एमाले नेताहरू बताउँछन्। आमरुपमा सर्वसम्मत भएका नामको हकमा पार्टीमा विवाद नभएको अवस्थामा भने सोही कायम हुने जनाइएको छ।
अहिलेसम्म सिफारिश भएका एमालेका सात जना नेता उम्मेदवार बन्ने लगभग पक्का जस्तै भएको छ। जसमध्ये पाँच वटा काठमाडौंका निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी पर्सा र बैतडीका रहेका छन्।
एमालेबाट काठमाडौं २ मा मणिराम फुयाल, काठमाडौं ३ मा कृष्ण राई, काठमाडौं ४ मा राजन भट्टराई, काठमाडौं ५ मा ईश्वर पोखरेल र काठमाडौं ८ मा राजेश शाक्यको नाम सर्वसम्मतिले सिफारिश भएको छ। त्यस्तै बैतडीबाट दामोदर भण्डारी र पर्सा ३ बाट राजकुमार गुप्ताको नाम सिफारिश भएको एमालेले जनाएको छ।
मातहतका कमिटीले सिफारिश गरेकामध्ये जित्न सक्नेलाई टिकट दिने तयारी रहेको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको भनाइ छ। “यो निर्वाचन पाँच दलीय सत्ता गठबन्धन भर्सेस एमालेबीचको निर्वाचन भएको हुनाले सकभर जित्नसक्ने आधार भएका उम्मेदवारलाई टिकट दिने तयारी छ,” गुरुङले भने।
आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिश गर्न एमालेका अधिकांश क्षेत्रीय र जिल्ला कमिटीको बैठक शनिबार र आइतबार बस्दै छ।