फनपार्कलाई महानगरको २४ घण्टे पत्र, राजस्व नबुझाए सिल गर्ने चेतावनी
काठमाडौं महानगरपालिकाले प्रदर्शनीमार्गमा रहेको फनपार्कलाई २४ घण्टाभित्र राजस्व बुझाउन पत्र पठाएको छ। तोकिएको समयभित्र राजस्व नबुझाए सिल गर्ने चेतावनी दिएको छ।
महानगरको राजस्व विभागले बुधबार फनपार्कलाई पत्र पठाएको हो। विभागीय प्रमुख शिवराज अधिकारीले पठाएको पत्रमा फनपार्कले काठमाडौं महानगरलाई बुझाउनुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर वर्षौंदेखि नतिरेको उल्लेख छ।
महानगरले व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा बुझाउन सचेत गराएको छ। त्यस्तै, विज्ञापन कर र मनोरञ्जन कर महानगरको राजस्व विभागमा बुझाउन २४ घण्टाको समय दिएको छ।
“पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न अनुरोध छ,” महानगरले भनेको छ, “तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्कलाई सिलबन्दी गरी तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ।”