ओलीको प्रतिवेदन- आगामी चुनाव चुनौतीपूर्ण देखिए पनि अभेद्य छैन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन लगायतले गर्दा आगामी चुनाव चुनौतीपूर्ण देखिए पनि जित्नै नसक्ने अवस्था नभएको जिकिर गरेका छन्।
काठमाडौंमा शुक्रबारदेखि शुरू भएको एमालेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रवितेदन पेश गर्दै अध्यक्ष ओलीले सबै चुनौती सामना गरेर अगाडि बढ्न सकिने बताए।
“तत्कालका लागि देखिएको प्रतिकूल शक्ति सन्तुलन, हाम्रो विरुद्धको घेराबन्दी र बृहत् षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिए पनि यो अभेद्य छैन,” ओलीले प्रतिवेदनमा भनेका छन्, “स्थानीय निर्वाचनमै पनि हामीले देख्यौं, व्यापक घेराबन्दीलाई चिर्दै नयाँ ढङ्गले अगाडि बढेको हाम्रो पार्टीले सत्ताको चरम दुरुपयोग र गठबन्धनका बावजूद जनताको सर्वाधिक मत र विश्वास हासिल गर्न सफल भयो।”
उनले स्थानीय चुनावमा जसरी आगामी चुनावमा पनि गठबन्धनलाई चिरेर अगाडि बढ्न सकिने औंल्याएका छन्। गठबन्धनमा रहेका दलहरू एमालेसँग डराइरहेको उनको बुझाइ छ।
ओलीले प्रतिवेदनमा भनेका छन्, “आज गठबन्धनका दलहरू जसरी एमालेसँग एक्लै लड्न डराइरहेका छन् र जसरी पाँच दलमाथि नयाँ दलहरू थपेर हामीलाई एक्ल्याउने कोशिश गरिरहेका छन्, यसले उनीहरूको शक्ति, सामर्थ्य र मनोबललाई होइन, कमजोरी, निरीहता र धरमराइरहेको आत्मविश्वासलाई प्रतिबिम्बित गर्छ।”
उनले यो गठबन्धन कुनै पनि वेला टुट्न सक्ने आकलन गरेका छन्। भागबण्डा नमिल्दा गठबन्धन टुट्न सक्ने उनको भनाइ छ।
“यो कुनै राजनीतिक स्थायित्वका लागि गरिएको अभ्यास नभएर बाँडीचुँडी खाने सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो,” ओलीले राजनीतिक प्रतिवेदनमा भनेका छन्, “भागबण्डा नमिल्नासाथ भोलि कुनै पनि वेला गठबन्धन भत्किने, नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासको पुनरावृत्ति हुने स्पष्ट छ।”
चुनावी तयारीका लागि शुरू भएको एमाले केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चल्नेछ। यसअघि एमालेका पोलिटब्यूरो र स्थायी कमिटी बैठक बसिसकेका छन्।