कांग्रेस नेता गिरिको निधनपछि कसले के भने?
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनपछि राष्ट्रपति‚ पूर्व प्रधानमन्त्री‚ विभिन्न राजनीतिक दलका नेता‚ पत्रकार लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले गिरिको निधनले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्। राष्ट्रपतिको ट्वीटरमा उल्लेख छ‚ “समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदीप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।”
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन्।
“नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु‚” देउवाले सामाजिक सञ्जालमा लेखेका छन्‚ “उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।”
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गिरिको निधनले मर्माहत भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु। उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व तथा समाजवादी चिन्तक गिरिको नेपाली राजनीतिमा सधैं अभाव हुने बताएका छन्। “नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ‚” दाहालले सामाजिक सञ्जालमा लेखेका छन्‚ “गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु।”
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेता गिरिको निधनले नयाँ समाजवादी धारको विकास लागेकाहरूलाई ठूलो क्षति पुगेको बताएका छन्। उनले ट्वीट गरेका छन्‚ “प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरिको निधनमा निःशब्द छु। २०३४ सालदेखि ४५ वर्ष निरन्तर वहाँसँगको गहन बौद्धिक विमर्शले मलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको थियो। नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई वहाँको निधनले ठूलो क्षति पुगेको छ! हार्दिक श्रद्धान्जली/समवेदना!”
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गिरिको अभाव सधैं खट्किरहने बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्‚ “अलबिदा प्रदीप गिरि दाइ! तपाईंको अभाव सधैं खट्किरहने छ!”
पूर्व कानून मन्त्री नीलाम्बर आचार्यले गिरिको निधनले नेपाल दुःखित भएको बताएका छन्। ट्वीटमा लेखेका छन्‚ “धेरै दुःखित छु। सुविख्यात प्रजातन्त्रवादी चिन्तक एवं राजनीतिज्ञ प्रदीप गिरिको निधनले नेपाल दुःखित छ। मित्र प्रदीपजीमा हार्दिक श्रद्धाञ्जली!”
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिका बौद्धिक व्यक्तित्वको निधनले स्तब्ध तुल्याएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “हार्दिक श्रद्धाञ्जली! नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व आदरणीय नेता प्रदिप गिरिको दु:खद निधनले स्तब्ध तुल्याएको छ। श्रदेय नेता प्रदिप गिरिप्रति हार्दिक श्रद्धाञ्जली! शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।”
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिको निधनसँग एउटा विश्वविद्यालय सदाका लागि बन्द भएको बताएका छन्। उनले ट्वीटरमा लेखका छन्‚ “एउटा विश्वविद्यालय‚ जो आजबाट सदाका लागि बन्द भयो! निस्काम कर्मयोगी हाम्रा महान् गुरुप्रति भावपूर्ण श्रद्धाञ्जली!”
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली राजनीतिमा एक राम्रो मानिसका रूपमा सदा सम्झना भइरहने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “नेपाली कांग्रेसका नेता, चिन्तक, प्रखर वक्ता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको देहावसानको समाचारले स्तब्ध र दुःखी छु। नेपाली राजनीतिमा एक राम्रो मानिसका रूपमा दिवंगत गिरिको सदा सम्झना भइरहनेछ।”
राप्रपा नेपालका अध्यक्ष कमल थापाले श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्‚ “हार्दिक श्रद्धाञ्जली! एक असल नेताको रुपमा स्व. प्रदीप गिरिको सम्झना सदैव भैरहने छ। शोकसन्तप्त परिवारमा हार्दिक समवेदना।”
पत्रकार कनकमणि दीक्षितले गिरिबारे लेखिएको लेख शेयर गर्दै लेखेका छन्‚ “‘संघर्ष प्रदीप गिरिको स्थायी साथी जस्तो देखिन्छ। उहाँसँग ‘मृत्यु चिन्तन’ विषयमा छलफल गर्ने मन छ।’ हिजो मात्रै रघु पन्तले स्व. प्रदीप गिरीजीबारे सम्झेको बुझेको कुरा लेख्नुभएको थियो। श्रद्धाञ्जली।”
पत्रकार किशोर नेपालले गिरिले आफ्नो अन्तिम संस्कार सिरहाको बस्तीपुरमा होस् भन्ने इच्छा गरेकाले त्यो इच्छा पूरा गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “प्रदीपदाइ चाहनुहुन्थ्याे उहाँकाे अन्तिम संस्कार राजधानीकाे तामझामबाट टाढा, बस्तीपुर, सिरहास्थित आश्रमकाे शान्त परिवेशमा हाेस। उहाँकाे याे इच्छाकाे कदर गर्न म नेपाल सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गर्दछु।”