चुनावका लागि भदौ १० बाट कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ अभियान
आगामी चुनावलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि अभियान सञ्चालन गर्ने भएको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले शनिबार पत्रकार सम्मेलन गरी भदौ १० गतेदेखि अभियान सञ्चालन गर्ने जानकारी दिएका छन्। कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ नाम दिएर अभियान सञ्चालन गर्न लागेको उनले बताए।
तीन चरणमा हुने अभियानको पहिलो चरण भदौ १० गतेदेखि शुरू गर्न लागिएको जनाइएको छ। पहिलो चरणको अभियान भदौ २४ गते बीपी जयन्तीका दिन समापन गरिने भएको छ।
त्यसपछि समानुपातिक उम्मेदवारी दर्तापछि दोस्रो चरणमा र प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि तेस्रो चरणको अभियान सञ्चालन गरिने प्रवक्ता महतले बताए। तीनै चरणमा जनताको घर–आँगनमा पुगेर जनभावना बुझ्ने र त्यही अनुसार विकास निर्माणका योजना लगिने उनको भनाइ छ।
यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइने भएको छ। यससँगै सातै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरूप प्रतिनिधि खटाउने व्यवस्था गरिएको महतले जानकारी दिए।