फिर्ता आएको विधेयक जस्ताको तस्तै पारित गरेर प्रतिनिधि सभाले दम्भ देखायोः पूर्व सभामुख ढुंगाना
पूर्व सभामुख दमननाथ ढुंगानाले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर प्रतिनिधि सभाले दम्भ देखाएको बताएका छन्।
राष्ट्रपतिबाट फिर्ता पठाइएको विधेयकको बुँदा बुँदामा बृहत् छलफल गर्नुपर्नेमा प्रतिनिधि सभाले आफ्नो दम्भ देखाएको ढुंगानाले बताएका छन्। यस्तो व्यवहारले लोकतान्त्रिक संस्कार नदेखिएको उनको भनाइ छ।
“प्रथमतः राष्ट्रपतिले नागरिकता विधेयक फर्काइदिएपछि पर्याप्त वा उचित समय दिएर खुला मनले बुँदा बुँदा उपर हर दृष्टिकोणबाट पुनर्विचार गर्नै पर्दथ्यो‚” पूर्व सभामुख ढुंगानाले ट्वीटरमा लेखेका छन्‚ “प्रतिनिधि सभाले त्यसो गरेको देखिएन। तुजुक जस्तो भयो। लोकतान्त्रिक संस्कार विकासबारे निराशा बढायो।”
प्रतिनिधि सभाबाट पारित भई प्रमाणितका लागि आएको विधेयकमा पुनर्विचार गर्नुपर्ने औंल्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी थिइन्। सोही विधेयक प्रतिनिधि सभाको बिहीबारको बैठकले बहुमतबाट जस्ताको तस्तै पारित गरेको हो।